सेकेन्डह्याण्ड मोटरसाइकल किन्दा अवस्य हेर्नुस् यी ४ चिज


आर्थिकी
...

काठमाडौं । नेपालमा नयाँ मोटरसाइकलको मूल्य उच्च रहेसँगै सेकेन्ड ह्याण्ड अर्थात रिकन्डिसनमा बाइक किन्नेको ग्राहको संख्या बढिरहेको छ ।

उपत्यकामा व्यवस्थित तरिकाले खुलेका रिकन्डिसन हाउसहरुको संख्या नै करिब ५ सय हाराहारी रहेको अनुमान गरिएको छ भने उपत्यका बाहिर पनि यस्तो व्यवसाय फस्टाइरहेको छ ।

यस्तोमा रिकन्डिसनमा मोटरसाइकल खरिद गर्ने ग्राहक नयाँ किन्ने भन्दा धेरै छन् भन्ने अनुमान लगाउन कठिन हुँदैन ।

रिकन्डिसन हाउसको संख्या बढ्नुको मुख्य कारण किन्ने मानिस बढ्नु भन्ने नै हो । उसोत धेरै मानिसले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सिधै डिल गरेर मोटरसाइल किन्ने गरेका छन् ।

ग्राहकलाई रिकन्डिसनमा मोटरसाइकल किन्दा कुन कुरालाई ध्यान दिनु पर्छ भन्ने विषय नै जानकारी नहुन सक्छ ।

मोटरसाइकल रिकन्डिसन हाउस वा व्यक्ति जोसँग किने पनि बाहिरी आवरणलाई मात्र हेरेर मात्रै खरिद गर्नु हुँदैन । त्यसैले यि निम्न विषयका बारेमा बुझेर किन्नु भयो भने ठगिने अवस्था आउँदैन ।

ह्यान्डलको अवस्था

कुनै पनि मोटरसाइकल तथा स्कुटर दुर्घटनामा पर्दा पहिला ठोक्किने पाट्र्स भनेको ह्यान्डल हो । ह्यान्डलको अवस्थाले पनि मोटरसाइकल तथा स्कुटरको अवस्था पहिचान गर्न मद्दत पुग्छ ।

ह्यान्डलको अवस्था सामान्य छ भने मोटरसाइकलको अवस्था ठिक हुन सक्छ । वा, भनौ मोटरसाइकल ठूलो दुर्घटनामा परेको छैन भन्ने देखाउँछ ।

अधिकांश दुर्घटनामा परेका मोटरसाइकल वा स्कुटरको ह्यान्डल बाङ्गो भएको हुन्छ । यस्तो मोटरसाइकल चलाउँदा मोटरसाइकलले एकतर्फ तानेको महसुश हुन्छ । त्यहि कारण बाटोमा मोटरसाइकल ह्यान्डलिङ गर्नसमेत असहज महसुश हुन्छ ।

टायर

कतिपय अवस्थामा मोटरसाइकल वा स्कुटरको कन्सोलमा कम किलोमिटर चलेको देखाएता पनि मिटरलाई बन्द गराएर चलाएको हुन सक्छ । यस्तो अवस्थामा मोटरसाइकलको टायरको ग्रिप हेरेर मोटरसाइकलको अवस्था थाहा पाउन सकिन्छ ।

कम किलोमिटर मात्र चलेको मोटरसाइकलको ह्वीलमा राम्रो ग्रिप रहेको छ । र मोटरसाइकलमा आउने टायर हो वा होइन भनेर पनि राम्रोसँग पहिचान गर्नु पर्ने हुन्छ । कहिले कहि विक्रेताले टायर परिवर्तन गरेको पनि हुन सक्छ ।

वेल्डिङ

मोटरसाइकल वा स्कुटर दुर्घटनामा परेर क्षति भएको छ भने त्यसमा वेल्डिङ गरेर बनाइएको हुन सक्छ । यस्तोमा मोटरसाइकल ह्यान्डल, लुकिङ ग्लास, फुटपेज, सारिगार्ड, साइलेन्सर, ब्रेक लिभर, गियर लिभर, ग्य्रावरेल जस्ता पाट्र्समा ध्यान दिएर हेर्नु पर्ने हुन्छ । यसका साथै फ्रन्ट सस्पेन्सन, ह्यान्डलको टी पार्ट र इन्जिनको नजिक कुनै क्षति पुगे नपुगेको ध्यान दिनु उपयुक्त हुन्छ ।

इन्जिन

इन्जिनको अवस्था थाहा पाउने उत्तम तरिका भनेको इन्जिन चिसो अवस्थामा रहेको बेला हो । इन्जिन तातो भएको बेला इन्जिनको अवस्था कस्तो छ भनेर पत्ता लगाउन गाह्रो हुनसक्छ । त्यसैले इन्जिन चिसो भएको बेला इन्जिन स्टार्ट गरेर हेर्नु पर्छ ।

यदि इन्जिनमा समस्या रहेको छ भने चिसो भएको समयमा मोटरसाइकल स्टार्ट हुन कठिन हुन्छ । चिसो अवस्थामा समेत इन्जिन सजिलै स्टार्ट भएको खण्डमा इन्जिनमा खराबी छैन भनेर अनुमान लगाउन सकिन्छ ।

यसका अलावा रिकन्डिसन मोटरसाइकल तथा स्कुटर खरिद गर्दा यसको क्लच, चेनस्पर्केट जस्ता पाट्र्सको समेत ध्यान दिएर किन्दा राम्रो मोटरसाइकल पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com